पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
नगरपालिकाका ११ महिलासहित २२ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । हालै सम्पन्न नवौँ नगरसभाले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यसका लागि नगरपालिकाले मृतकको कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । “नगरसभामा निर्णय भएअनुसार कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्दैछौँ”, नगरप्रमुख भीम न्यौपानेले भने ।
उनका अनुसार आजदेखि सम्पर्कमा आएका मृतकको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिनेछ । हाल नगरपालिका भित्रका १२ महिलासहित ४६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पनौती नगरपालिकाका सबै सङ्क्रमित होम आइसोलेसनमै रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।
नगरपालिकाले आउँदो केही महिनामा कोरोना भाइरस सङ्क्रमणको दर बालबालिकामा उच्च हुने प्रक्षेपण गरेको छ । सोही अनुरुप सङ्क्रमित बालबालिका लागि हाललाई ३० श्ययाको अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरेको छ । स्थानीय रोटरी नेपालसँगको सहकार्यमा सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप वडा नं ४ कार्यालयमा आइसोलेसन वार्ड बनाएको नगरप्रमुख न्यौपानेले बताए।
नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि वैशाख अन्तिम साता २५ श्ययाको अक्सिजनसहितको आइसोलेसन कक्ष व्यवस्थित गरेको थियो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ६३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । तीमध्ये १८७ जनाको मृत्यु भएको छ । हालसम्म कूल सङ्क्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ४३२ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ८५ जना सङ्क्रमणमुक्त भएका छन् ।
काभ्रेपञ्लान्चोक हाल ४४४ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२६, बनेपामा १०४, पाँचखालमा ५१, नमोबुद्धमा ५४, मण्डनदेउपुरमा नौ तथा रोशी गाउँपालिकामा १०, चौँरी देउरालीमा एक, तेमालमा एक, भुम्लु १५, खानीखोलामा दुई, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा दुई रहेको केन्द्रले जनाएको छ ।
यस्तै सुर्खेत जिल्लामा हालसम्म १४ प्रतिशत जनसंख्याले मात्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पुर्ण खोप पाएका छन् । झण्डै ४ लाख २३ हजार जनसंख्या रहेको सुर्खेतमा १४ प्रतिशतले मात्र पुरा मात्रामा खोप पाएका छन् भने १६ प्रतिशतले दोस्रो डोज पाएका छैनन् ।
शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पहिलो र दोस्रो गरेर १ लाख २६ हजार ४८५ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिईएको छ। जसमध्ये ५९ हजार ९९७ जनाले पहिलो र दोस्रो गरेर पुर्ण मात्रा खोप लगाएका छन् भने ६८ हजार ४८९ जनाले पहिलो मात्राको खोप मात्र प्राप्त गरेका छन् ।
जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी गणेश गौतमका अनुसार २७ हजार २९६ जनालाई कोभिशिल्ड खोपको पहिलो डोज लगाइएको छ । ८ हजार ५८९ जनाले पहिलो र दोस्रो दुबै गरी पुर्ण मात्राको खोप लगाएतका छन् ।
भेरोसेल खोप जम्मा ४७ हजार ५५७ जनालाई लगाइएको छ । जसमध्ये ३५ हजार ३९७ जनाले पहिलो मात्र डोज मात्र लगाइएको छ भने र १२ हजार १६० जनाले दुबै मात्राको खोप लगाएका छन् ।
यस्तै २२ हजार ७५२ जनाले जोनस एण्ड जोनसन खोप लगाएका छन् । उनका अनुसार आस्ट्राजेनेका खोप जम्मा २० हजार २९१ जनालाई लगाइएको छ । जसमा ५ हजार ७९६ जनाले पहिलो मात्राको र १४ हजार ४९५ जनाले पहिलो र दोस्रो दुबै मात्राको खोप लगाएका छन् ।
प्रतिक्रिया