काठमाडौं - गत आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो ।
सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएपनि कोरोना कहरका कारण आर्थिक गतिविधि शिथिल हुँदा र सरकारले प्रयाप्त मात्रामा पूँजीगत खर्च गर्न नसक्दा त्यसको असर आर्थिक वृद्धिमा देखिएको हो ।
केन्द्रीय तथ्याङ्ग विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुन सक्ने अनुमान रहेको छ । आर्थिक वृद्धिमा कृषि क्षेत्रको २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशत रहेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६.६२ प्रतिशत पुगेको छ । कुल स्थिर पुँजी निर्माणर कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २७.२६ प्रतिशत र ३२.३० प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भएर १ खर्ब ४१ अर्ब १२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो ।
प्रतिक्रिया