अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताए ।
यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको उनले बताए ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ ।
अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पु¥याएको छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताए ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।
डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उनले भने, “थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।” अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।
हेलम्बु राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोक– लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । आज बिहान ६ः०० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले वैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरेका छन्। अहिले मेलम्चीबाट काठमाडाँै र काठमाडाँैबाट मेलम्ची आएका यातायातका साधन तथा यात्रु अलपत्र परेका छन् । यसअघि पनि यस ठाउँमा निरन्तर पहिरो खरिरहेको छ ।
वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो
लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।
वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । “अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ”, उनले भने ।
यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षात्का कारणका पूर्वपश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताए । पुल भासिएपछि बुटवलतर्फबाट जाने र आउने सवारी साधन सडकमै रोकिएका छन् ।
नेपालगञ्ज जलमग्न
राँझा– गए रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षात्मा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षात्ले सहरका विभिन्न स्थान डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिए । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए ।
करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिराका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
मकवानपुरको भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध
मकवानपुर– अविरल वर्षाका कारण पहिलो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजेको समयमा भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट लेदो माटोसहितको पहिरो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पहिराका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने दुवैतर्फका सवारी साधन रोकिएका छन् । उक्त सडकखण्डमा यातायात सञ्चालनका लागि पहिरो पन्छाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा पहिलो जाँदा हेटौँडा–भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । त्यहाँको पनि पहिरो पन्छाउने कार्य भइरहेको प्रवक्ता रिमालले जानकारी दिए ।
भीमदत्त राजमार्ग अवरुद्ध
गोदावरी– गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिराले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिराले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया