काठमाडौं - अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताए ।
यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको उनले बताए ।
यस्तै बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।
डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उहाँले भन्नुभयो, “थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।” अबिरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।
प्रतिक्रिया