काठमाडौं - आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए ।
हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ । पछिल्लो बाढीले गर्दा यहाँ रहेका सडक बगाएको छ भने अरु संरचनामा कति क्षति पुग्यो भन्ने थाहा नभएको सूचना अधिकारी पन्तले बताए ।
आयोजनाले हालसम्म रु दुई अर्ब क्षति भएको अनुमान गरिएको छ । मर्मत र पुनःनिर्माण गर्दा त्यो रकम बढ्नसक्ने सूचना अधिकारी पन्तले बताए । हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने उनको भनाइ छ । निर्माणस्थलमा रहेका संरचना पुनःनिर्माणमा समय र लागत दुबै बढी लाग्ने देखिएको छ ।
प्रतिक्रिया