काठमाडौं - वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
सहारा निर्माण सेवा, वीरेन्द्रनगर–७ ले मुलुकी देवानी संहिता २०७४ को दफा ६६९ बमोजिम विज्ञापन राख्ने व्यवसायीबाट तिर्न बुझाउन बाँकी करको दायित्व वहन गराउन माग गर्दै फिरादपत्र दायर गरेको हो ।
फिरादपत्रमा विपक्षीबाट रु ३३ लाख ३० हजार ८२० असुल गराउन माग गरिएको छ । नगरपालिका र सहारा निर्माण सेवाबीच विसं २०७७ असोज ४ गते विज्ञापन कर सङ्कलन गर्ने सम्झौता भएको थियो । सहारा निर्माण सेवाका सञ्चालक दशरथ चन्दले बारम्बार ताकेता गर्दासमेत कर नबुझाएपछि अदालतमा मुद्दा दायर गर्नुपरेको बताए ।
उनका अनुसार होर्डिङ बोर्ड राखेवापत रु एक लाख ५० हजारमात्र विज्ञापन कर सङ्कलन भएको छ ।नगरपालिकाले पनि ती २६ कम्पनीलाई तत्काल कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
फिरादपत्रमा मुलुकी देवानी संहिता २०७४ को दफा ४९४, ४९५, ६६९ बमोजिम विपक्षीबाट पाउनुपर्ने राजश्व रकम असुल गर्न नसकी क्षति हुन गएकाले सो रकम क्षतिपूर्ति भराइदिन माग गरिएको छ । अदालतले असोज ५ गते उपस्थित हुन विपक्षी कम्पनीलाई पत्र पठाएको छ ।
प्रतिक्रिया