काठमाडौं- न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ११ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार बुधबार सम्ममा ४५ सय १९ जनाले ११ लाख १ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आइपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । न्यादीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ ।
यता, न्यादीका संस्थापक शेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ । लगानीकर्ताले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ ।
आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका शाखा, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, संस्थापक सेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यस आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।
प्रतिक्रिया