हकप्रद सेयर निष्कासनको पाइपलाइनमा ५ कम्पनी, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - ५ वटा कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद सेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । 

जसमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड,  नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । 

१. समृद्धि फाइनान्स कम्पनी लिमिटेड
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २:१ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ५० प्रतिशतले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन १५ गते सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

२. नारायणी डेभलपमेन्ट बैंक लिमिटेड
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १:१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबोनमा निवेदन पेश गरेको छ । बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

३. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

४. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियो । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

५. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया