गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् ।
नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन् । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उनले बताए । नदी कटानका कारण त्यस क्षेत्रका करिब एक दर्जन सङ्घसंस्था धरापमा परेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन पराशर पार्क, भूपू भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतको क्षति हुने देखिएको छ ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले बाढीले कटान गरेका क्षेत्रमा रोकथामका लागि पहल गर्ने आश्वासन दिनुभएको टोल विकास संस्थाका सचिव तेजबहादुर नेपालीले जानकारी दिए । तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास छ ।
खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता
सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ ।
सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । मङ्गलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् । उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए।
प्रतिक्रिया