ओलीसँग बालकोटमा निर्णायक वार्ता गर्दै एमालेको तेस्रो धार, अलमल नभइ समाजवादीमा समाहित हुन नेपालको निम्तो

४ बर्ष अगाडि

काठमाडौं - पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक वार्ताको तयारीमा जुटेका छन् ।

त्यसका लागि उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेतामार्फत ओलीलाई भेटेर छलफल गर्ने चाहाना राखेका छन् । सोमबार या मंगलबारसम्म पनि अध्यक्ष ओलीले भेट नदिए र १० बुँदे कार्यान्वयनबारे प्रतिवद्धता नजनाए पुनः आफ्नो समूहका नेताहरुबीच छलफल गरेर आगामी बाटो तय गर्ने प्रदिप ज्ञवालीको भनाइ छ ।

ओली पक्षका केही नेताहरुले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी कुरा पार्टी बैठकमा आएर राखे भइहाल्छ भन्नेजस्ता हल्का टिप्पणी गरेको भन्दै ओलीको पनि त्यही कुरा भए एकता कुनै हालतमा सम्भव नहुने ज्ञवालीले बताए । ज्ञवाली भने आफूहरु एकताकै पक्षमा रहेकाले मिलनबिन्दु १० बुँदे हुन सक्ने भन्दै त्यसको अक्षरशः पालना हुनुपर्ने बताउँछन् । 

माधव नेपाललगायत १४ जनाको कारवाही फिर्ता हुनुपर्ने र अलग दल दर्ताका लागि गरेको प्रयासबाट माधव नेपाल पछाडि हट्नुपर्ने आफूहरुको बटमलाइन भएको ज्ञवालीले रातोपाटीलाई बताए ।

माधव नेपालले एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । उक्त निवेदनमा आयोगले आउँदो बुधबार सनाखत गर्न बोलाएको छ । आयोगले त्यसै दिन दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेकाले त्यसअघि नै तेस्रो धारका नेताहरुले ओलीसँग भेटेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।

माधव नेपालले अलग पार्टी दर्ता गर्न जाँदा विगतमा नेपालसँगै रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई लगायतका नेताहरु सहभागी भएनन् । उनीहरु न ओलीसँग नै खुलेर लाग्न सके न नेपालतिरै ।

एमाले एकता भन्दै आएका ती नेताहरु अहिले पनि के गर्ने भन्नेमा अन्योलमै छन् । यो धारमा रहेका भनिएका नेताहरु कोही माधव नेपालसँग मिल्नुपर्ने पक्षमा छन् भने कोही ओलीसँगै मिल्नुपर्छ भन्ने मत राख्छन् । योगेश भट्टराई, ठाकुर गैरे लगायतका नेताहरु ओलीसँगै मिल्नुपर्ने पक्षमा छन् भने भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरु ओलीसँग लुरुक्क परेर जान नहुने पक्षमा छन् ।

अलमलमा परेका तेस्रो धारका नेताहरुसँग नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेता माधव नेपालले सोमबार बिहान फोनवार्ता गरेका छन् । त्यसक्रममा उनले नअल्मलिन र समाजवादीमा समाहित हुन निम्तो दिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया