काठमाडौं - वैदेशिक रोजगार ठगी बढ्दै गएको छ । गत वर्ष व्यक्तिगत ३ सय ४१ उजुरीबाट २४ करोड ९८ लाख ६४ हजार रुपैयाँ मागदाबी गरिएकोमा २ सय १ उजुरीको २० करोड ५८ लाख ६५ हजार विगो दाबी गरी अदालतमा मुद्दा दायर भएको छ ।
यस्तै संस्थागत अर्थात म्यानपावर कम्पनीतर्फ ९ सय १४ उजुरीबाट ३४ करोड ६७ लाख ६९ हजार रुपैयाँ मागदाबी रहेकोमा जम्मा ४ करोड ९२ लाख ७० हजार रुपैयाँको विगो भराएको राष्ट्रपति विद्यादेवी भण्डारीलाई गत शुक्रबार पेश गरिएको महालेखाको ५८ औं वार्षिक प्रतिवदेनमा उल्लेख गरिएको छ ।
प्रतिवदेनमा वैदेशिक रोजगार सम्वन्धी कानूनी तथा एकै प्रकारको सजायको नीतिगत कमजोरीले ठगीको संख्या तथा पीडितको दाबी दिनप्रतिदिन बढ्दै गएको उल्लेख गरिएको छ । प्रतिवेदनले वैदेशिक रोजगारको ठगी कार्य नियन्त्रण गर्न नीतिगत पुनरावलोकन गरी उजुरी फरफारक गर्नुपर्ने उल्लेख गरेको छ ।
प्रतिवदेनले वैदेशिक रोजगार ऐनको दफा ५१ ले वैदेशिक रोजगारमा गएका तथा जाने प्रक्रियामा रहेका कामदार ठगीमा परेमा विभागले वैदेशिक रोजगार व्यवसायीले राखेको धरौटीबाट कामदारलाई क्षतिपूर्ति भराई एक लाख रुपैयाँ जरिवाना गर्ने, इजाजतपत्र रद्ध गर्ने तथा धरौटी रकम नपुग भएमा इजाजतपत्रवालाको जायजेथाबाट असुल गर्ने व्यवस्था भएपनि व्यवहारमा उक्त कार्य नगरेको टिप्पणी गरेको छ ।
प्रतिक्रिया