काठमाडौँ – एमाले उपाध्यक्ष भीम रावललाई माधव नेपालले गठन गरेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा लाग्न प्रदेश स्तरका नेताहरुले निरन्तर दबाब दिएका छन् ।
काठमाडौँ आएका सुदूरपश्चिम प्रदेशका सांसद एवं नेताहरुले आइतबार भेट गरी नेता नेपालले गठन गरेको पार्टीमा लाग्न दबाब दिएका हुन् । प्रदेशसभामा रावल निकट रहेका १७ जना सांसदमध्ये तीन जना मात्रै नेपाल पक्षमा प्रष्टसँग खुलेर लागेका छन् ।
आइतबार पनि रावललाई प्रदेशस्तरका नेताहरुले नेपालले गठन गर्न लागेको नयाँ पार्टीको पक्षमा खुल्ल आग्रह गरेका छन् । नेताहरु गरिमा शाह, उर्बादत्त पन्त, तारा तामाङ, भट्टलगायतले भेट गरेका हुन् । तर रावलले प्रष्ट जवाफ नदिएको भेटमा सहभागी एक नेताले बताए ।
आइतबार सिंहदरबारमा प्रदेशस्तरका नेताहरुसँग भेट गरेपछि रावलले नेपाल पक्षमा रहँदै आए पनि पार्टी विभाजनको पक्षमा हस्ताक्षर नगरेका आठ जना सांसदहरुसँग छलफल गरेका थिए ।
नेपालले एमाले विभाजन गरेर प्रस्ताव गरेको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निर्वाचन आयोगले भदौ ९ गते बोलाएको छ । २ गते नयाँ पार्टी प्रस्ताव गर्दा हस्ताक्षर नगरेर तेस्रो धार बनाएका नेपाल पक्षका नेताहरु सनाखत गर्न जाने कि नजाने भन्ने विषयमा अन्योलनमा परेका छन् ।v
प्रतिक्रिया