ओलीले पठाएको २६० सदस्यलाई निर्वाचन आयोगले मान्यता नदिने, साबिककै केन्द्रीय कमिटीलाई मान्यता

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ । 

निर्वाचन आयोगका अनुसार कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेको छ । नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।

निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पुर्‍याउँदा हुने भएको छ ।  एमाले अध्यक्ष ओलीले अद्यावधिक गरेको २६० सदस्यीय केन्द्रीय कमिटीलाई आयोगले आधार नमान्ने भएको छ ।

यसैबीच, माधव नेपालले आयोगमा केन्द्रीय सदस्यका रूपमा बुझाएका नयाँ सदस्यहरूले पनि मान्यता नपाउने आयोगले जनाएको छ । तर, नयाँ दलले वैधानिकता पाइसकेपछि भने जतिजनाको केन्द्रीय कमिटी बनाए पनि त्यसलाई आयोगले मान्यता दिने र अभिलेखमा राखिने आयोगले स्पष्ट पारेको छ ।

त्यसपछि केपी ओलीले पनि केन्द्रीय कमिटीको सदस्य संख्या बढाउन वा घटाउन पाउने निर्वाचन आयोग स्रोतले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया