एजेनसी - इस्लामिक स्टेट आईएस समूहको अफगानिस्तान शाखाबाट आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल नजिक नरहन सचेत गराएको छ ।
शनिवार अफगानिस्तानस्थित अमेरिकी दूतावासले जारी गरेको एउटा सुरक्षा सतर्कतामा सम्भावित सुरक्षा चुनौतीका कारण अमेरिकी नागरिकहरूलाई विमानस्थलको गेट बाहिर नरहन भनिएको हो ।
अमेरिकी सरकारका प्रतिनिधिले व्यक्तिगत रूपमा यात्रा गर्न भनिएकाहरूले मात्रै त्यो बाटो प्रयोग गर्न दूतावासले भनेको छ । अमेरिकी रक्षा अधिकारीहरूले घटनाक्रमहरूको अनुगमन गरिरहेको र विमानस्थल पुग्ने वैकल्पिक बाटोहरूको खोजी भइरहेको बताएका छन् ।
आईएसको सम्भावित सुरक्षा चुनौती के हो भन्नेबारे अमेरिकी अधिकारीहरूले थप खुलाएका छैनन् । आईएसले पनि सार्वजनिक रूपमा राजधानी काबुलमा आक्रमण गर्ने चेतावनी दिएको छैन । राजधानी काबुल अफगानिस्तानको हतियारधारी विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएसँगै देश छोड्न काबुल विमानस्थल बाहिर हजारौँ मानिसहरूको निरन्तर भिड देखिएको छ ।
साथै ६० भन्दाबढी मुलुकहरुले संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानसहित अन्य देशका नागरिकहरुलाई सुरक्षित देश छोड्नका लागि सहयोग गर्न तालिबानलाई आग्रह गरेका छन् । ती देशहरुले अफगानिस्तान छोड्न चाहने सबैलाई अनुमति दिन आग्रह गरेका हुन् ।
उनीहरुले विमानस्थल र सीमा नाकाहरु खुला रहनु पर्नेसमेत बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया गणतन्त्र, कतार, बेलायतलगायतका देशहरुले एक संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानमा शक्ति र अख्तियारको पदमा रहेकाहरु जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
उनीहरुले सम्मानजनकरुपमा बाँच्न पाउनुपर्ने नागरिकको हकप्रति उत्तरदायित्व, मानव जीवनको रक्षा र सम्पत्तिको सुरक्षाकासँगै नागरिक व्यवस्थाको पुनर्बहाली हुनुपर्ने मागसमेत गरेका छन् ।अफगान जनता सुरक्षित र सम्मानजनकरुपमा बाँच्न पाउनुपर्छ र यसका लागि अन्तर्राष्ट्रिय समुदाय उनीहरुलाई सहयोग गर्न तयार रहेकोसमेत विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया