पाँच फरार अभियुक्त पक्राउ, तीन बालकको भारतबाट उद्धार

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु १० हजार जरिवाना सुनाइएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशङ्कर महतो रहेका छन् । 

यस्तै लेनदेन मुद्दामा दुई वर्ष कैद पाएका सिरहा नगरपालिका–२ का ५५ वर्षीय रामदेव साह, लेनदेन मुद्दामै पाँच महिना कैद सजाय पाएका सिरहा –१६ का ४० वर्षीय जाकिर मलङ्ग र चोरी मुद्दामा एक महिना कैद र रु ३० हजार जरिवाना सजाय ताकिएका सिरहा–१ का २३ वर्षीय सन्तोषकुमार कामती छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताए । साथै लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ । सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वेश ल्याइएको हो । 

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएकोे उनले बताए ।ती बालक १५ वर्षमुनिका  र जिल्ला प्रशासन कार्यलयमार्फत परिवारको जिम्मा लगाउने अभियन्ता रायले जानकारी दिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया