काठमाडौं - अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो ।
आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले पनि आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन । तर अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई ‘ढोका बाहिर हुन सक्ने सुरक्षा खतरा’बाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको बीबीसीले जनाएको छ ।
अमेरिकी अधिकारीहरुले अफगानिस्तानको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएका छन् । राजधानी काबुलस्थित विमानस्थल बाहिर आतंक जारी रहेका बेला अमेरिकाले सम्भावित आक्रमणको खतराबारे जानकारी गराएको हो ।
साथै विश्व फुटबलको प्रशासकीय निकाय फिफाले अफगानिस्तानको महिला फुटबल टिमका सदस्यहरुको उद्धारका लागि विश्वका विभिन्न देशका सरकारलाई पत्र लेखेको छ । तालिबानको नियन्त्रणमा आएको अफगानिस्तान महिला फुटबलरका लागि जोखिमपूर्ण रहेको भन्दै फिफाले उद्धारका लागि आग्रह गरेको हो ।
खेलाडीहरुले आफ्नो जीवन जोखिममा परेको भन्दै सहयोगका लागि अपील गरेका छन् । खेलाडीहरुको संस्था फिपप्रोले पनि सहयोगका लागि आह्वान गरेको छ । उद्धार योजनाका लागि सरकारहरुसँग सम्पर्क गरिएको र जति सक्दो धेरैको उद्धार गर्ने प्रयास भइरहेको फिपप्रोले उल्लेख गरेको छ ।
फिफाले अफगानिस्तानको अवस्था अस्थिर र निकै चिन्ताजनक रहेको बताएको छ । गएको हप्ताको आइतबार तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएसँगै धेरै खेलाडीहरु सार्वजनिक हुन चाहेका छैनन् ।
अफगानिस्तानमा सन् २००७ मा पहिलो राष्ट्रिय महिला टिम बनाइएको थियो ।
प्रतिक्रिया