काठमाडौं - अफगानिस्तानको काबुलबाट थप नेपाली घर फर्कने क्रम जारी रहेको छ । यो सँगै बाह्य सहयोग लिएर सरकारले अफगानिस्तानमा रहेका नेपालीको स्थलगत विवरण संकलन थालेको छ । अफगानिस्तानमा तालिवानले काबुलसँगै सत्ता कब्जा गरेपछि विदेशीसँगै अफगानीको पनि भागाभाग छ ।
परराष्ट्र मन्त्रालयले काबुलमा रहेका सुरेशचन्द्र शर्मालाई सम्पर्क व्यक्ति बनाएको छ । त्यहाँ नेपालको दूतावास छैन । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले नै अफगानिस्तान मामिला हेर्दै आएको छ ।
काबुलस्थित भारतीय दूतावासमार्फत विगतमा सहयोग लिन सजिलो थियो । अफगानिस्तानमा तालिवान सत्तामा आएसँगै भारतले आफ्नो दूतावास बन्द गरेर कर्मचारी फिर्ता बोलाएको छ ।
परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नयाँदिल्लीस्थित नेपाली दूतावासले काबुलमा तत्कालका लागि सूचना संकलन गर्न शर्मालाई प्रयोग गरेको हो । उनी पनि नेपाल सरकारले गर्ने उद्धार पर्खेर बसेकामध्ये हुन् ।
सरकारले यसअघि इराक, लिबिया र यमनमा संकट आउँदा त्यहाँ रहेका नेपालीलाई ‘फोकल पर्सन’ बनाएर सहयोग लिँदै आएको थियो । अहिले त्यसैगरी अफगानिस्तानमा शर्मालाई उपयोग गरिएको परराष्ट्रका अधिकारी बताउँछन् ।
शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्केका छन् । हालसम्म ५ सय ४ जना नेपाली अफगानिस्तानबाट काठमाडौं आइपुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको कन्सुलर सेवा विभागको वेब पोर्टलमा शनिबार साँझसम्म ३ सय १७ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।
प्रतिक्रिया