इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जीत, उपाधिको दाबेदार लिभरपुललाई लगातार दोस्रो सफलता

४ बर्ष अगाडि

एजेन्सी - इङ्ग्लिस प्रिमियर लिगका साबिक विजेता म्यानचेस्टर सिटीले नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा सिटीले नर्विचमाथि ५–० को शानदार जित हासिल गरेको हो ।

खेलको सातौँ मिनेटमा नै नर्विचका गोलकिपर टीम क्रुलले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो । २२ औँ मिनेटमा हालैमात्र १० करोड पाउन्डमा सिटीमा अनुबन्ध भएका ज्याक ग्रिलिसले टोलीका लागि पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा एमेरिक लापोर्टेले अर्को गोल थपे भने राहिम स्टर्लिङ र रिहाद महारेजले एक–एक गोल गर्दै सिटीलाई सहज जीत दिलाए । खेलमा ग्याब्रियल जिसुसले दुईवटा गोलको अवसर सिर्जना गरेका थिए । पहिलो खेलमा टोटनह्यामसँग १–० ले स्तब्ध भएको सिटीले तीन अंक बटुल्न सफल भएको छ ।

साथै उपाधिको दाबेदार रहेको लिभरपुलले भने लगातार दोस्रो जीत हासिल गरेको छ । एनफिल्डमा लिभरपुलले बर्नलीलाई २–० ले हरायो ।

लिभरपुलको जीतमा डिएगो जोटा र साडियो मानेले एक–एक गोल गरे । ६ अंकसहित लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।

अन्य खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडलाई २–० ले हरायो भने ब्राइटनले वाटफोर्डलाई सोही गोलअन्तरले पराजित गर्यो । एभर्टन र लिड्सले भने २–२ को बराबरी खेले ।

४ बर्ष अगाडि

प्रतिक्रिया