राजनीतिमा समय बिताउने चिकित्सक, स्वास्थ्यकर्मीलाई जागिर छाड्न निर्देशन

४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्युट भरतपुरमा बनाइने बताएकाछन्  । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पर्याप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्युट यही अस्पताल परिसरमा बनाउनुपर्ने उनले बताए ।

अस्पतालको आज निरीक्षणपछि उनको सम्मानमा गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले यस ठाउँलाई छाडेर भक्तपुर इन्स्टिच्युट बन्न नसक्ने बताए । सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई हेर्ने गरी अध्ययन, अनुसन्धानलगायत कामका लागि इन्स्टिच्युट भक्तपुर क्यान्सर अस्पतालमा राख्ने निर्णय गरेकामा चौतर्फी विरोध भइरहेको समयमा नवनियुक्त राज्यमन्त्री श्रेष्ठले भरतपुरमा इन्स्टिच्युट राख्ने बताएका हुन् । कार्यक्रममा उहाँले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अघिल्लो सरकारले गरेको सो निर्णय हाल रोक्न आफूले निर्देशन दिइसकेको बताए।

मन्त्री श्रेष्ठले क्यान्सर रोगसम्बन्धी अध्ययन र अनुसन्धान केन्द्रका रूपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विकास गरिने बताए । उनले भने, “राजनेताका नाममा स्थापना भएको यस अस्पतालको विकासमा सरकारले कुनै कसर राख्दैन ।” क्यान्सर रोग पहिचान गर्ने पेटस्क्यानलगायत महत्वपूर्ण उपकरण भित्र्याएर अस्पताललाई सुविधासम्पन्न बनाउन सरकारको तर्फबाट आवश्यक सहयोग हुने उहाँको भनाइ छ । सो अवसरमा उहाँले क्यान्सरका बिरामीका लागि सरकारले उपलब्ध गराउँदै आएको रु एक लाखलाई बढाएर रु तीन लाख पु¥याइने बताए । क्यान्सरका बिरामीका लागि प्रक्रिया मिलाएर कोरोनाविरुद्धको खोप उपलब्ध गराइने श्रेष्ठको भनाइ थियो । क्यान्सर रोगको उपचार सहज बनाउन प्रदेशस्तरमा अस्पताल स्थापना गरी यसलाई रिफरल सेन्टर बनाउनुपर्ने उनले जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई राजनीति नगर्न निर्देशन दिँदै भने, “राजनीति गर्ने भए बाहिर गरौँ संस्थाभित्र होइन ।” कार्यक्रममा स्वास्थ्य सचिव पोखरेलले अस्पताललाई सुविधासम्पन्न बनाउन आवश्यक सहयोग मन्त्रालयबाट हुने भन्दै काममा भन्दा राजनीतिमा समय बिताउने चिकित्सक, स्वास्थ्यकर्मीलाई जागिर छाड्न निर्देशन दिए । उनले भने, “संस्थाको विकास र आम नागरिकको सेवामा लाग्नुस् राजनीति गर्ने भए जागिर छाडेर जानुस् ।” 

सोही अबसरमा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले इन्स्टिच्युट भरतपुरमा बनाउन र क्यान्सर उपचारमा दिँदै आएको रु एक लाख सहयोगलाई बढाएर कम्तीमा रु तीन लाख पु¥याउन अनुरोध गरे । अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा देजकुमार गौतम र उपनिर्देशक डा कृष्णसागर शर्माले अस्पतालका गतिविधिका बारेमा प्रकाश पारेका  थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया