१५० भारतीयसहित विदेशी नागरिक तालिबानको नियन्त्रणमा, सरकार बनाउन बरादर काबुल पुगे

४ बर्ष अगाडि

एजेन्सी - अफगानिस्तानमा तालिबानहरुले १५० भारतीय नागरिकसहित विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । तालिबान लडाकुले काबुल विमानस्थलको गेटमा नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नियन्त्रणमा लिइएकामा भारतीय नागरिकसहित अफगानी शिख समुदायका व्यक्तिहरु समेत रहेको जनाइएको छ । भारतको विदेश मन्त्रालयबाट यसबारे औपचारिक प्रतिक्रिया आइसकेको छैन ।

नियन्त्रणमा लिइएकाहरु आज बिहानै काबुल विमानस्थलमा छिर्ने प्रयास गरेपनि तालिवान लडाकुहरुले बाहिरै रोकेका थिए । सो क्रममा केही तालिबान लडाकुले भारतीय नागरिकलाई कुटेको पनि जनाइएको छ ।

अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गरेपछि अहिले अफगानिस्तान बाहिरका अधिकांश नागरिकहरु पनि समस्यामा परेका छन् । यसै बिच अफगानिस्तानमा नयाँ सरकारको गठनको उद्देश्यले तालिबानका सह संस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् । 

काबुलमा उनी तालिबानका अन्य सदस्य र नेतासँग कुराकानी गर्नेछन् । मुल्ला गनी बरादरलाई सन् २०१० मा पाकिस्तानबाट पक्राउ गरिएको थियो । सन् २०१८ मा उनलाई कतार पठाइएको थियो । बरादरलाई दोहामा अमेरिकी सैनिकको फिर्ताको सम्झौतामा हस्ताक्षरका लागि तालिबानको राजनीतिक कार्यालयका प्रमुख नियुक्त गरिएको थियो । 

मुल्ला गनी बरादर मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो शहर पुगेका थिए जसलाई तालिबानको जन्मस्थल पनि मानिन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया