५७ केन्द्रीय कमिटी सदस्यले दिएको अल्टिमेटम ओलीद्धारा अस्वीकार, अबको बाटो कता ?

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेको एकता प्रक्रियामा लागेका ५७ नेताहरूले १० बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले आसार २७ गते गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए ।

शुक्रवार महाराजगंजमा बसेको एकता पक्षधर नेताहरूको बैठकले बुधवारसम्म ओलीले सहमति कार्यान्वयन नगरे विद्रोह हुने निष्कर्ष निकालेका थिए । नेता घनश्याम भुसालले पार्टी एकता पक्षधरहरूले एमालेमा ठूलो विद्रोह हुने चेतावनी दिइसकेका छन् ।

१० बुँदे कार्यान्वयनको अल्टिमेटम पाएका ओलीले आफूनिकट नेताहरूसँग भन्ने गरेका छन्, 'हामी अघि बढिसकियो । पछि फर्किने कुरा हुँदैन । अल्टिमेटम दिएर मलाई तर्साउनु पर्दैन कसैले ।'

एकता पक्षधरका एक नेताले भने, 'उहाँ इमान्दार देखिनु भएको छैन । सहमति कार्यान्वयन गर्नुपर्ने हाम्रो मागलाई उहाँले पछि नफर्कने भन्दै जवाफ दिनुभएको छ । उहाँले हामीलाई आफ्नो कित्ता रोज्न स्वतन्त्र भन्दै जता लागेपनि आफूलाई फरक नपर्ने जवाफ दिनुभयो । अझ हामीलाई तमासा नगर्नुस् सम्म भन्नुभयो ।'

ओली सहमति कार्यान्वयन गर्न इमान्दार नदेखिएको निष्कर्ष निकालेका नेताहरू अन्तिम समयमा माधव नेपालको नयाँ दलमा जाने सम्भावना पनि देखिएको छ । आउँदो बुधवारसम्म ओलीले दश बुँदे सहमति कार्यान्वयन नगरे उनीहरू आफ्नो दल रोज्न स्वतन्त्र हुनेछन् । 

यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निवेदन दिइसकेका छन् । निवेदनमा साविक एमालेका तर्फबाट ५८ केन्द्रीय सदस्य छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया