नेपालको पक्षमा खुलेपछि गृहजिल्लामा कमजोर बन्दै खनाल, पार्टीको नामलाई थापाको व्यंग्य

४ बर्ष अगाडि

काठमाडौं - पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ दिएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल गृह जिल्ला इलाममा थप कमजोर भएका छन् ।

खनालको सचिवालयले उनी नयाँ गठन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पक्षमा रहेको सार्वजनिक गरेको छ । खनालका समर्थकहरुले त्यसको चर्को आलोचना गरिरहेका छन्।

खनालले तत्कालीन नेकपाको विवादका बेला गृहजिल्लाका समर्थक गुमाएका थिए । पार्टी विभाजनपछि खनालले आफ्नो पक्षमा रहेका कार्यकर्ताको साथसमेत गुमाएका हुन् । नेकपाको आन्तरिक कलहमा प्रचण्डको पक्षमा उभिएका नेता खनालले प्रदेशसभा सदस्य  र स्थानीय तहका नेताको सथर्मन गुमाएका थिए ।

त्यस्तै नेकपा विवादकै क्रममा खनाल पक्षका धेरैले कित्ता परिवर्तन गरेका थिए । खनाल उपचारका क्रममा भारतमा छन् । साथै नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले माधव नेपालको नेतृत्वमा गठित नयाँ पार्टीको नामलाई लिएर व्यंग्य गरेका छन् ।

एकीकृत समाजवादी पार्टी नामलाई उनले ‘मजाक’ संज्ञा दिए । फेसबुकमा स्टाटस लेख्दै थापाले दुई दिनअघि नै आफूले एमाले ९समाजवादी० नाममा निर्वाचन आयोगले पार्टी दर्ता गर्न नसक्ने बताएको सम्झाएका छन् ।

‘उनी नाम बदल्न बाध्य भए,’ थापा लेख्छन्, ‘फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै सक्दैन । जुन गोरुको सिंग छैन त्यसको नाम तिखे भनेजस्तो । नाममै मजाक त नगर्ने कि । दुनियाँ हास्दैछन् ।’

नेकपा एमालेबाट विभाजित बनेको माधव समुहले एमाले (समाजवादी) नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । तर, निर्वाचन आयोगले उक्त नाम अस्वीकार गरेपछि अहिले नेकपा (एकीकृत समाजवादी) नामाकरण गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया