मेस्सी र नेइमार बिना पिएसजीको शानदार जित, कप्तान बेन्जिमा र रियल मड्रिडबिच थप एक वर्षको सम्झौता

४ बर्ष अगाडि

एजेन्सी - स्टार खेलाडीहरु लियोनल मेस्सी र नेइमार बिना पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित निकालेको छ । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पिएसजीले लगातार तेस्रो जित निकालेको हो । 

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई ४–२ ले पराजित गरेको छ । सो खेलमा पिएसजीले हाल अनुबन्धित गरेका मेस्सी तथा अर्का स्टार खेलाडी नेइमार मैदानमा थिएनन् ।

पिएसजीका लागि २३ औँ मिनेटमा हरेरा, ३६ औँ मिनेटमा केलियन एमबाप्पे, ७३ औँ मिनेटमा गुआई र ९० औँ मिनेटमा एन्जल डी मारियाले गोल गरेका हुन् । ब्रेस्टका लागि ४२ औँ मिनेटमा होनोरात र ८५ औँ मिनेटमा मोउनीले गोल गरे ।

यो महिना बार्सिलोना छोडेर पिएसजीमा अनुबन्धित भएका मेस्सीले अझै पिएसजीबाट खेल्न बाँकी छ । कोपा अमेरिकापछि बिदामा गएका मेस्सी र नेइमारले सिजनअघिको प्रशिक्षण ढिला सुरु गरेका थिए ।

साथै रियल मड्रिडका कप्तान करिम बेन्जिमाले क्लबसँग थप एक वर्षको सम्झौता गरेका छन् । थप गरिएको सम्झौतासँगै बेन्जिमा सन् २०२३ सम्म रियल मड्रिडमा रहने भएका छन् ।

सम्झौताले बेन्जिमाको रियल मड्रिडमा १४ वर्ष पूरा हुने भएको छ । ३३ वर्षका बेन्जिमा सन् २००९ मा रियल मड्रिडमा अनुबन्धित भएका थिए । उनले अहिलेसम्म १२ वर्षको अवधिमा २८१ गोल गरेका छन् ।

उनले क्लबका सर्वाधिक गोलकर्ताको सूचिमा पाँचौँ स्थानमा छन् । उनले गएको हप्ता यो सिजनको सुरुवाति खेलमा एलाभेसलाई ४–१ ले पराजित गर्ने क्रममा दुई गोल गरेको थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया