लगातारको वर्षाका कारण पहिराले बैतडीमा दुई घर बगाएको छ । बिहीबार राति खसेको पहिराले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो ।
पहिराले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । रातिको समयमा पहिरो गएको भएपनि मानवीय क्षति भने हुन नपाएको बताइएको छ । दुई तले चार कोठे घरमा रहेका मानिस भागेर बाचेको प्रहरीले जनाएको छ ।
यस्तै अन्य १० वटा घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय इन्द्रबहादुर कुँवर, भगीरथ कुँवर र भुपेन्द्र कुँवरको घर पहिराको जोखिममा रहेका हुन् । साथै हरि सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगनबहादुर चन्द, बल्देव लुहार र इन्द्रबहादुर कुँवरको घर पहिराको जोखिममा रहेको वडाअध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए ।
पहिरोको उच्च जोखिममा रहेका हरी सार्की, रामबहादुर चन्द र अमरबहादुर चन्दको परिवार विस्थापित भएका छन् । उनीहरु छिमेकीको घरमा बसिरहेका छन् । यसैबीच पहिरोबाट विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गर्ने भएको छ । विस्थापित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, भाँडाकुँडा र लत्ता कपडा प्रदान गरिने रेडक्रसका कोभिड–१९का फिल्ड सुपरभाइजर देवबहादुर महराले जानकारी दिए।
गोबरगाढाका ३५ घर डुबानमा
लगातारको वर्षाले सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती जलमग्न भएका छन् ।
सप्तकोशी नदीमा आज एक्कासि आएको बाढीले बस्तीका करिब ३५ घरमा पानी पसेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । बाढीले दुईटा घरमा कटानसमेत गरेको जनाइएको छ । पानीको बहाव उच्च भएपछि ती घरमा दुई फिटसम्म पानी जमेको छ ।
चारैतिरबाट कोशी नदीले घेरिएको गोबरगाढा बस्ती प्रत्येक साल बाढी आएको बेला डुबानमा पर्ने गरेको वडाध्यक्ष बिन्देश्वर यादवले बताए । घरहरुमा बाढीले डुबेपछि स्थानीय बासिन्दा कोशीदेखि पर रहेका विद्यालयमा आश्रय लिएर बस्न बाध्य रहेको उनको भनाइ छ ।
स्थानीयवासी हरि यादव र शत्रुधन यादवको घर कोशी नदीले कटान गरेको छ भने अन्य घरमा पनि कटान गर्न सकिने डरले उनीहरु सुरक्षित स्थानको खोजीमा रहेको वडाध्यक्ष यादवले बताए ।
यसैबीच वडाध्यक्ष यादवको नेतृत्वमा अहिले डुबानमा परेका घर र क्षतिको विवरण सङ्कलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ
प्रतिक्रिया