कोशी राजमार्ग र भीमदत्त राजमार्ग सञ्चालनमा

४ बर्ष अगाडि

सुक्खा पहिरो खसेर अवरुद्ध भएको उत्तर दक्षिण कोशी राजमार्ग सुचारु भएको छ । सङ्खखुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक मङ्गलबार रातिदेखि अवरुद्ध भएको थियो । 

उत्तर दक्षिण कोशी सडक कार्यालयको डोजर, अरुण तेस्रो र प्रहरीको सहयोगमा भोटखोला जोड्ने कोशी राजमार्ग आज विहानदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

सो राजमार्ग अवरुद्ध हुँदा मकालुका केही वडा र भोटखोला गाउँपालिकासँगको सम्पर्क टुटेको थियो । मकालु–३ का हेदाङनामा रोकिएका दर्जनौँ सवारीसाधन अहिले आ–आफ्नो गन्तव्यतिर लागेको मकालु–३ स्थानीय हित कार्कीले जानकारी दिए। सो क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

यस्तै गएरातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा उक्त राजमर्ग अवरुद्ध भएको थियो ।

राजमार्ग खुलाउन सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोग लिइएको घण्टेश्वर गैरास्थित प्रहरी चौकीले जनाएको छ । 

राजमार्ग अवरुद्ध भएका कारण गएरातिदेखि अलपत्र परेका दजनौँ सवारीसाधन तथा सयौँ यात्रु अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए । पहिराका कारण पाँचौँ पटकसम्म राजमार्ग अवरुद्ध भइसकेको  जनाइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया