देशकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् ओली समूहलाई सरप्राइज

४ बर्ष अगाडि

काठमाडौं - लामो समयदेखि एमालेको माधव नेपाल समुहमा रहेर अध्यक्ष केपी ओलीको चर्को विरोध गर्दै आएकी अष्टलक्ष्मी शाक्य बुधबार अचानक वाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् । ओली समूहमा प्रवेश गरेर  उनी मुख्यमन्त्री बनेको धेरैले चर्चा गरे ।  

यसअघि ओलीसँगको संघर्षका क्रममा अग्रभागमा भुमिका निर्वाह गरेकी शाक्य एकाएक ओली पक्षबाट मुख्यमन्त्री बनेको भन्दै धेरैले उनको राजनीतिक नैतिकताबारे प्रश्नसमेत उठाए । तर, माधव नेपाल समूह छोडेर मुख्यमन्त्री भएको भोलिपल्टै शाक्यले अर्को ‘सरप्राइज’ दिएकी छिन् । उनले ओलीसँग नरहेको सन्देश दिँदै एमालेको तेस्रो धारका नेताहरुको समूहमा मिसिएर संयुक्त अपिल जारी गरेकी छिन् । जुन ओली पक्षका लागि ‘सरप्राइज’ हो ।

तेस्रो धारका नेताहरुको संयुक्त अपिलमा शाक्यको समेत नाम देखेपछि ओली पक्ष चकित बनेको छ । मुख्यमन्त्री शाक्यले माधव नेपाल पक्षका १४ सांसदमाथि भएको कारवाही फिर्ता लिन माग गरेकी छिन् । अध्यक्ष ओलीको पहलमा मुख्यमन्त्री बनेकी उनै शाक्य त्यसको भोलिपल्टै तेस्रो धारमा उभिन पुगिन् । जसले गर्दा माधव नेपाल पक्षजस्तै ओली पक्षसमेत झस्किन पुगेको छ ।

बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । उनले देशकै पहिलो महिला मुख्यमन्त्री भएर इतिहास रचेकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया