काठमाडौं - सर्वोत्तम शेयर खरीद प्रकरणमा मन्त्रीस्तरीय निर्णयबाट छानबिन कमिटी गठन भएर प्रकृया अगाडि बढेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । उक्त छानबिन समितिले दिने निष्कर्षका आधारमा कारवाही प्रकृया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघीय सांसदको अर्थ समितिले व्यक्तिले गरेको अनियमितताका सम्बन्धमा संस्थालाई पत्र काटेको विषयमा समितिले शुक्रबार बोलाएको छलफलमा उपस्थित भएर अर्थमन्त्री शर्माले यस्ता बताएका हुन् ।
उनले सर्वोत्तम प्रकरणमा नियमनकारी निकायको प्रमुखले आफ्नै परिवारभित्रका शेयर खरीद बिक्रीका ठूला-ठूला कारोबार भएको खबर सार्वजनिक भएसँगै मन्त्रालयले चासो दिएको र त्यस सम्बन्धमा धितोपत्र बोर्डमा यथार्थ बुझ्न पत्राचार गरिएको बताए । बोर्डबाट प्राप्त संस्थागत जवाफले पनि नपुग्ने भएपछि मन्त्रीस्तरीय निर्णयबाट छानबिन कमिटी गठन भएर प्रकृया अगाडि बढेको उनको भनाई छ ।
मन्त्री शर्माले अर्थ मन्त्रालयले सँधै लगानीकर्ताको हितमा काम गर्ने बताए । पछिल्लो समय नेपालको पूँजीबजार लाखौंको सहभागितामा अगाडि बढिरहेको र मौद्रिक नीति आएसँगै कारोबार रकम समेत साढे २१ अर्ब नाघेको उनले बताए ।
प्रतिक्रिया