जयपृथ्वी राजमार्ग अवरुद्ध, भीमदत्त राजमार्ग पुनःसञ्चालनमा

४ बर्ष अगाडि

लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

पहिराले बिहान ६ः०० बजेदेखि  राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन् । सवारी साधन रोकिँदा यात्रु पनि अलपत्र परेका छन् । 

यस्तै गएरातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग  अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी चौकी घण्टेश्वर गैराले जनाएको छ । दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया