किसानलाई तरकारीको बीउ, जैविक मल र कृषि उपकरण सहयोग

४ बर्ष अगाडि

बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सहयोग गरिएको हो ।

एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, जनजाति, एकल महिला तथा विपन्न समुदायलाई वडा कार्यालयको समन्वयमा नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम लागू गरिएको छ । बेमौसमी तरकारी खेती गर्ने ८० किसानलाई टमाटर, काउली, बन्दागोभीलगायत तरकारीको बीउ र जैविक मल दिइएको छ । तरकारीका बिरुवाको नर्सरी तयार गर्नका लागि २० किसानलाई टमाटर, काउली, बन्दाको बीउ र जैविक मल तथा विषादी दिइएको छ । त्यसैगरी खुर्सानी खेती गर्ने ५० किसालाई खुर्सानीको बीउ, मल र विषादी दिइएको छ ।

पोली हाउसभित्र तरकारी खेती गर्ने ३० किसानलाई टमाटर, करेला, मल, बीउलगायत दिइएको छ । त्यसैगरी हल्दी र अदुवा खेती गर्ने ६५ किसालाई समेत मल हस्तान्तरण गरिएको छ । यसअघि गत वर्ष ती किसानलाई औजार, प्राविधिक सहयोग, दक्ष तालिम, आवश्यक साम्रगी सहयोग गरिएको थियो । किसानले उद्यमी भई तीनदेखि पाँच कठ्ठामा तरकारी खेती गर्दै आइरहेका स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले जानकारी दिए । 

किसानलाई कृषि उपकरण सहयोग
तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यावसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ । नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा यो परियोजना सञ्चालनमा छ ।

परियोजनाले यसअघि नै किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेकामा पछिल्लोपटक धान काट्ने, आलु लगाउने, च्याउ बनाउने मेसिन सहयोग गरेको हो । किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरण सहयोग गरिएको परियोजनाले जनाएको छ ।

पछिल्लोपटक परियोजनाले वडा नं ११ स्थित लालीगुराँस च्याउ उत्पादक कृषक समूह, वडा नं १२ स्थित बुद्धभूमि तरकारी उत्पादक कृषक समूह र वडा नं १० स्थित सेमराबजार आलु उत्पादक कृषक समूहलाई विभिन्न कृषि उपकरण सहयोग गरेको हो । लालीगुराँसलाई च्याउ बनाउने स्टिमर र बलमेकर मेसिन, बुद्धभूमिलाई धान काट्ने मेसिन र सेमराबजारलाई आलु लगाउने डिगर मेसिन सहयोग गरिएको परियोजनाले जनाएको छ ।

किसान समूहलाई कृषि सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि यान्त्रिकीकरण अपरिहार्य रहेकाले परियोजनाअन्तर्गत किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको बताए । 

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सो नगरपालिकामा गत वर्षदेखि व्यावसायिक आलु उत्पादन, बीउ वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजना सुरु गरिएको हो । परियोजनाअन्तर्गत गत वर्ष झण्डै ६५ बिघामा बीउ वृद्धिका लागि आलुखेती गरिएको थियो । उत्पादित आलु यस वर्ष बीउका रूपमा प्रयोग गर्ने गरी शीतभण्डारमा राखिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया