काठमाडौं -पछिल्लो समय नेपालको पुँजी बजारमा सूचीकृत जलविद्युत कम्पनीहरुमा लगानीकर्ताको बढ्दो आकर्षण रहेको देख्न सकिन्छ ।
यस्तै, सूचीकृत कम्पनीहरुको शेयर भाउमा उच्च वृद्धि भएको छ । वित्तीय अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीहरुको समेत शेयर भाउ उच्च देखिएको छ ।
कतिपय जलविद्युत कम्पनीका प्रबन्धक आफैले शेयर मुल्यमा अस्वाभाविक वृद्धि गराएको हल्ला चल्न थालेपछि विद्युत नियमन आयोगले ध्यानाकर्षण भएको जानकारी गराएको छ । आयोगले विद्युत कम्पनीहरु तथा आयोजनाको आधारभूत पक्षहरुको अध्ययन गरी स्वयं निर्णय लिन आग्रह गरेको छ ।
साथै, जलविद्युत कम्पनीको सेयर खरिद गर्नु अघि निम्नलिखित पक्षहरुको अध्ययन गर्नसमेत आग्रह गरेको छ ।
१. कम्पनीको नेटवर्थ चुक्ता पुँजी भन्दा कम भएको वा नभएको ।
२.तरलता अनुपात धेरै भएको वा नभएको ।
३.शेयरको बजार मूल्य र प्रतिशेयर आम्दानीको अनुपात कम भएको वा नभएको ।
४.विगतमा कम्पनीले उचित लाभांश वितरण गर्ने गरेको वा नगरेको ।
५. कम्पनीले लिएको ऋणको ब्याजदर उच्च रहेको वा नरहेको ।
६.आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको वा नरहेको ।
७.आयोजनाले बैंक तथा वित्तीय संस्थाको ऋणको किस्ता वा ब्याज समयमा तिरिरहेको वा नरहेको ।
८.निर्माणाधीन आयोजनाको हकमा कार्य प्रगति धेरै भएको वा नभएको ।
९.चालु सम्पति र चालु दायित्वको अनुपात धेरै भएको वा नभएको ।
१०.आयोजनाको सञ्चित मुनाफा अधिक रहेको वा नरहेको ।
११. कम्पनीको व्यवस्थापनसँग विद्युत क्षेत्रको राम्रो अनुभव भएको वा नभएको ।
१२. ऋण तथा स्व–पुँजीको अनुपात ।
१३.आयोजनाको प्रतिमेगावाट लागत अन्य कम्पनीका आयोजनासँग तुलनीय रहेको वा नरहेको ।
१४. कम्पनीको लेखापरीक्षण प्रतिवेदनमा लेखा परीक्षकको नोटमा लेखिएको बुँदाहरु ।
१५. ऋण तथा स्व–पुँजीको अनुपात ।
प्रतिक्रिया