अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन आग्रह, काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर युवा फुटबलरको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।  प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । 

नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सुर्खेत घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर महतले जानकारी दिए ।

उनका अनुसार अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले यही भदौ १० गतेसम्म विस्तृत विवरण टिपाउन भनेर सूचना प्रकाशन गरिएको छ । साथै काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् । 

विमानबाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ । उनको मृत्युबारे थप जानकारी भने सार्वजनिक गरिएको छैन । तालिबानले अफगानिस्तानमा कब्जामा जमाएपछि हजारौँ सङ्ख्यामा अफगान नागरिकहरू देश छाडेर भागिरहेका छन् । 

पश्चिमा राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई उद्धार गर्न थालेपछि अफगान नागरिकहरू पनि काबुलस्थित विमानस्थलमा पुगेका थिए । सोमबार अमेरिकी एयरफोर्सको विमानको छेउमा रनवेमा सयौँ मानिसहरू कुद्दै गरेको र केही विमानको चक्कामाथि झुन्डिएर बसिरहेको भिडियो बाहिर आएको थियो ।

स्थानीय मिडियाका अनुसार कम्तीमा दुई जनाको विमानमा खसेर मृत्यु भएको छ । यता, कतार आइपुगेको विमानको ल्यान्डिङ गियरमा मानिसहरूको शव फेला परेको पुष्टि भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया