कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।
यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा श्रेष्ठले भने, “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हँदैछ ।”
त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइपलाइनबाट पु¥याउने गरी काम भइरहेको छ । ‘युएनओपियस’ नामक संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ । “उक्त संस्थाले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको खबर आएको छ”, उनले भने, “अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ ।”
अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्यरुपमा चलिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ । स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट बिरामीको तथ्याङ्क जिल्लामा आउन बाँकी रहेको जनाएको छ ।
बैतडीमा अक्सिजन बैंक स्थापना
भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो ।
कोरोना भाइरस कोभिड–१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। कोभिड–१९ व्यवस्थापनका लागि आवश्यक सामग्री सञ्चित गर्दै बैंक स्थापना गरिएको हो । उनले भने, “कोरोना भाइरसको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बैंक स्थापना गरेका हौँ ।”
बैंकमा ३३ अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ । अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ । कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडि पूर्वतयार नहुँदा कोभिडका बिरामीको उपचारमा समस्या भएको थियो । अब जिल्लामै अक्सिजन तथा कन्सन्ट्रेटर सञ्चित गरेर राखेपछि सम्भावित तेस्रो लहरमा उपचारमा सहज हुने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताए । उनले भने, “तेस्रो लहरको पूर्वतयारीस्वरुप बैंक स्थापनाले महामारी फैलिए पनि उपचारमा सहज हुनेछ ।”
प्रतिक्रिया