२४ वर्षपछि फेरि दुई टुक्रा भयो एमाले, जसपा विभाजनले मधेसमा तरंग

४ बर्ष अगाडि

काठमाडौं - पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा बनाएको छ ।

यसअघि २०५४ सालमा महाकाली सन्धिको विषयलाई लिएर पार्टीभित्र विवाद भएपछि वामदेव गौतमले एमाले विभाजन गर्दै नेकपा ९माले० पार्टी गठन गरेका थिए । अहिले २४ वर्षपछि एमालेका पूर्वमहासचिव माधवकुमार नेपालले अध्यक्ष ओलीसँग विधि र पद्धतिलाई मुख्य एजेन्डा बनाउँदै पुनः एमाले विभाजित गरेका छन् । 

पार्टी विभाजन गरेको चार वर्षपछि गौतम पुनः एमालेमै फर्किएका थिए । त्यसपछि २०५९ सालमा तत्कालीन उपाध्यक्ष अशोक राईलगायतका नेताहरुले जनजातिको मुद्दामा पार्टी नेतृत्वले बेवास्ता गरेको भन्दै पार्टी परित्याग गरेका थिए ।

बुधबार बिहान मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्थासहित राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।

यस्तै मधेसलाई राजनीतिक आधार क्षेत्र बनाएको जनता समाजवादी पार्टी ९जसपा० विभाजित भएको छ । जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल ९लोकतान्त्रिक० दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

अहिले सरकारले पार्टी विभाजन र गठनका लागि सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि ठाकुर पक्षले नयाँ पार्टी गठन गरेको हो ।जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधानका कारण ठाकुर पक्ष नयाँ पार्टी खोल्न पनि नसक्ने र जसपामा पनि बस्न नसक्ने अवस्थामा पुगेको थियो । 

त्यति बेला नयाँ पार्टी घोषणा गर्नेबित्तिकै उनीहरूको सांसद पद जाने थियो । यस्तै अप्ठेरो परेका बेला सरकारले दल विभाजन र गठनका लागि सहज हुनेगरी ल्याएको अध्यादेशले ठाकुर पक्षका नेताहरूलाई ठूलो राहत मिल्यो । उनीहरूले बुधबार नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया