माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्ह के हुने भन्नेबारे अन्योलता भएको छ । यसअघि पार्टीले प्रस्ताव गरेको ‘खुला किताब’ चुनाव चिन्ह स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि आज त्यसबारे टुंगो नलागेको हो ।
नवगठित पार्टी एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हबारे पछि निर्णय हुने बताए । उनले यसअघि नै निर्वाचन आयोगमा कलम चुनाव चिन्ह भएको पार्टी पनि दर्ता भइसकेको भन्दै सो पार्टीसँग एकता गरेर पनि चुनाव चिन्ह लिन सकिने विकल्प रहेको उनको भनाइ छ ।
यता समाजवादी पार्टीमा ३१ जना सांसद रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । त्यस्तै उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको जानकारी दिए । नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।
दल दर्ताको निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले नयाँ पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएपछि राष्ट्रिय सम्मेलन गर्ने र नयाँ क्रान्तिकारी पार्टीका रुपमा अघि बढाउने बताए । त्यस्तै उनले नेकपा एमालेमा रहेका नेताहरुलाई पनि चाँडो नयाँ पार्टीमा आउन आग्रह गरे । ‘एमालेमा रहेका साथीहरुसँग रहेका साथीहरुसँग हाम्रो व्यवहार शत्रुतापूर्ण रहँदैन । अल्मलिएर बसेका साथीहरुलाई आउन आग्रह गर्छु’ पाण्डेले भने, ‘अरु कम्युनिस्ट पार्टीसँग पछि पार्टी एकता हुनसक्छ तर ओलीसँग पार्टी एकता हुँदैन ।’
प्रतिक्रिया