अध्यादेश जारी : आयोग जाने तयारीमा महन्थ, नेपालको एमालेसँग डिभोर्स

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेसँगै जसपाबाट आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्ने बाटो खुलेको छ । 

यस्तै एमालेको माधव कुमार नेपाल समूहलाई पनि नयाँ पार्टी गठन गर्ने बाटो खुलेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले जसपाको ठाकुर पक्ष र एमालेको माधव पक्षलाई नयाँ पार्टी बनाउन सहजता प्रदान गर्नकै लागि अध्यादेश ल्याएको हो । यद्यपि अध्यादेशको सत्तारुढ दलकै नेतालगायतले तिव्र विरोध गर्दै आएका छन् । 

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको जानकारी दिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । 

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि निर्वाचन आयोगको निर्णयपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ पार्टी गठनमा जुटेका छन् ।  महन्थ ठाकुर पक्षका एक नेताले भने, सबै डकुमेन्ट तयारी अवस्थामा छ, नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छौँ ।’ 

पार्टीको नाम जनता समाजवादी पार्टी ९जसपा० लोकतान्त्रिक रहने छ भने एकल अध्यक्ष प्रणालीमा पार्टी दर्ता हुने ती नेताले बताए । यस्तै अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएपछि एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । 

सो समूहका एक नेताका अनुसार नयाँ पार्टी गठनका लागि बेदुराम भुसाल, डा विजय पौडेल तथा अधिवक्ता गोविन्द बन्दीको सहयोगमा विधान र साङ्गठानिक संरचनालाई समेत अन्तिम स्वरूप दिइएको छ ।

माधव समूहले आफ्नो पार्टीको नामको अगाडि नेकपा र कोष्ठकमा (समाजवादी),(क्रान्तिकारी) या अन्य केही राख्ने तयारी गरेको छ । साथै चुनाव चिन्ह कलम प्रस्ताव गर्ने तयारी भएको नेताहरूको भनाइ छ । त्यस्तै नयाँ पार्टीको सांगठनिक संरचनामा तत्काल अध्यक्ष र महासचिवसहित केन्द्रीय सदस्य राख्ने सहमति पनि भैसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया