राष्ट्रपतिले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने, 'एमाले समाजवादी' को नाम लिएर माधव समूह निर्वाचन आयोग जाने

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रक्रियाअनुसार आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेको बताए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । 

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ राजनीतिक दल गठनका लागि निर्वाचन आयोग जानेगरी तयारी थालेको छ । त्यसका लागि स्थायी कमिटी सदस्य बेदुराम भुसालसहितका नेताहरुले पार्टीको विधान, नियमावली, चुनाव चिन्ह नाम लगायतका विषयलाई अन्तिम रुप दिइरहेका छन् । 

एमाले विभाजनपछि गठन हुने पार्टीलाई समाजवादी केन्द्रको रुपमा अगाडि बढाउने उद्देश्यका साथ पार्टीको नामको पछाडि समाजवादी राख्ने गरी छलफल चलेको छ । अहिले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने गरी बहुमत सदस्यले राय दिएका छन् । 

त्यस्तै चुनाव चिन्ह ताराभित्र हँसिया हथौडाको विषयमा लगभग टुंगो लागिसकेको बताइएको छ । चुनाव चिन्हमा कलम, कलश, दियोलगायतको पनि चर्चामा थियो । यसअघि माधव नेपाल पक्षका डाक्टर खिमलाल देवकोटा राष्ट्रिय सभामा कलम चिन्हबाटै गठबन्धनको तर्फबाट चुनाव लडेर विजयी भएका थिए । 

नेपाल पक्षले अध्यादेश जारी भएसँगै ६० देखि ९० सदस्यीय केन्द्रीय सदस्यको नामावालीसहित नयाँ दल दर्ताको प्रक्रिया थाल्ने छ । नेपाल पक्षमा हाल २२ जना प्रतिनिधिसभा सदस्यहरु स्पष्ट रुपमा खुलेका छन् । त्यस्तै नेपाल पक्षले ६० जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिसकेको दाबी गरेको छ । निर्वाचन आयोगमा कायम रहेको २०३ सदस्यमध्ये २० प्रतिशत अर्था ४१ केन्द्रीय सदस्यको हस्ताक्षर पुर्‍याउनुपर्ने हुन्छ ।  

नेता नेपाल पक्षले अध्यादेश जारी भएपछि नयाँ पार्टी घोषणा गर्ने गरि विधानसहितको तयारीमा पनि काम गरिरहेको छ । सो पार्टीको केन्द्रीय कमिटी ६० देखि ९० सदस्यीय हुने पनि जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया