थप ३० जनामा कोरोना संक्रमण पुष्टी, काभ्रेमा कोरानाका कारण १३७ को मृत्यु

४ बर्ष अगाडि

कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।  अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६४ नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टी भएको हो ।  

१ सय ३४ जनामा भने नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा कोरोनाका कारण हालसम्म १ सय ८६ जनाको मृत्य भएको छ । अस्पतालमा अहिले १८ जनाको उपचार भैरहेको श्रेष्ठले जानकारी दिए ।

अस्पतालका अनुसार हालसम्म १ लाख ११ हजार ८ सय ८ नमुना संकलन गरी पिसिआर परीक्षण गर्दा १९ हजार ९ सय ६४ मा संक्रमण पुष्टी भएको छ भने ८१ हजार अठचालीस जनाको रिपोर्ट नेगेटिभ आएको छ।

काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु

 कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ । 

गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४५० मा सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को तथ्याङ्कमा उल्लेख छ । गतअसार महिनामा नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो ।

हालसम्म जिल्लाका १३ हजार ६६५ मा सङ्क्रमण देखिएकामा १८२ को मृत्यु भएको छ । यसमध्ये करिब साढे तीन हजार गत सालका सङ्क्रमित हुन् भने १० हजारभन्दा बढी सङ्क्रमणको दोस्रो लहर सुरु भएयताका हुन् । हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० सङ्क्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि सङ्क्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

हाल दैनिक सङ्क्रमणदर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । 
सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई आवश्यक अक्सिजनसहित पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ ।

आगामी केही महिनामा सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेशन निर्माण गरेको छ । 

यसैबीच जिल्लामा हाल ५४४ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२४९, धुलिखेलमा १३७, पनौतीमा ५९, पाँचखालमा ६३, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा ३४ तथा रोशी गाउँपालिकामा दुई, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लुमा चार, खानीखोलामा एक, बेथानचोकमा ११ र महाभारत गाउँपालिकामा चार सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।

४ बर्ष अगाडि

प्रतिक्रिया