एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि देशव्यापी लकडाउन घोषणा, चीनबाट थप १६ लाख डोज खोप ल्याउने

४ बर्ष अगाडि

न्यूजिल्याण्डले एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।  कोरोना सङ्क्रमण नबडोस  भनेर तीन दिन न्यूजिल्याण्ड सरकारले देशव्यापी लकडाउन गरेको हो ।

यस्तै कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । 

न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनका अनुसार लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने छन् । न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । यहाँ पछिल्लो छ महिना एता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन । 

 

चीनबाट थप १६ लाख डोज खोप ल्याउने

यता नेपाल सरकारले चीनबाट थप १६ लाख डोज खोप ल्याउने भएको छ। चीनले अनुदान स्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाने भएको हो। 

दुई दिनमा १६ लाख डोज खोप ल्याउने तयारीका साथ निगमको जहाज बुधबार बिहान ११ बजे चीन जाने तालिका रहेको छ। बुधबार ८ लाख  र विहीबार ८ लाख गरी १६ लाख डोज भेरोसेल खोप ल्याउन लागिएको हो। 

बुधबार गएको जहाज राती १२ बजे फर्कने तालिका रहेको छ । बिहीबार बिहान ७ बजे गएर राती ८ बजे फर्कने उडान तालिका रहेको निगमले जनाएको छ। 

केही समय अघि प्रधानमन्त्री शेर बहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत हाउ यान्छीले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएकी थिइन् । सोही खोप बुधबार(आज) र बिहीबार (भोलि)को उडानमा आउन लागेको हो। 

चीनले यसअघि पनि दुईपटक गरेर १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया