मेलम्चीले थप तीन घर बगायो,  नौबिसे–नागढुङ्गा सडक अवरुद्ध

४ बर्ष अगाडि

अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । 
 
उनले स्थानीयवासी  कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको  जानकारी दिए । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ ।

गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।

यस्तै त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।  सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया