काठमाडौं - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरू तथा सदस्यहरूले उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल सँग भेटवार्ता गरेका छन् ।
उक्त भेटमा चेम्बर अध्यक्ष मल्लले अर्थमन्त्रीलाई पुनःस्थापित गर्न बिभिन्न सुझावहरू प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न बताएका छन् ।
यस सन्दर्भमा जलश्रोतको अपार भण्डार भएको मुलुक भएकोले 'नेपालको पानी जनताको लगानी'अवधारणाका आधारमा यसको उपयोग गर्न सकिएमा अर्थतन्त्रलाई समृद्ध बनाउन र गरिबी निवारणमा टेवा पुग्न जाने बताए । यसका अतिरिक्त चेम्बर अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्स वापत नेपालमा भित्रिने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको परिस्थितिमा बैंकिङ च्यानल मार्फत भित्रिने रेमिट्यान्सलाई ऊर्जा लगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीतिको आवश्यकता रहेको औँल्याएका छन् ।

साथ साथै भारत, बंगलादेश लगायत दक्षिण एशियाली क्षेत्रमा द्रुतगतिको आर्थिक उन्नतिको मार्गमा अग्रसर भइ रहेकाले ती मुलुकहरूमा विद्युत बजार बिस्तार गर्न निरन्तर रूपले कूटनीतिक पहल गरिनु पर्ने बताउनु हुँदै विद्युत उर्जा मार्फत पेट्रोलियम पदार्थको आयात विस्थापन गर्न स्थानीय स्तरमा विद्युत उपभोग बढाउने रणनीति ल्याउन पनि आग्रह गरे ।
उर्जा क्षेत्रमा लगानी बढाउन हेजिङ सम्बन्धी व्यवस्था, जग्गा प्राप्तिको लागि सरलीकरण, आयकर छुट, प्रसारण लाइन र सबस्टेशन निर्माण सम्बन्धी रणनीतिक योजना बारे पनि सुझावहरू प्रस्तुत गरे । सो अवसरमा उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मुलुकको समृद्धिको आधारशीला कृषि, उर्जा तथा पर्यटन क्षेत्र रहेको बताउनु हुँदै कृषि क्षेत्रको विकासको लागि विद्युतीय प्रयोगमा वृद्धि ल्याउन प्रोत्साहनमूलक कार्यक्रम ल्याइने बताइन् ।
यसका लागि सिँचाइको लागि सहुलियत दरमा विद्युत प्रदान गरिने बताइन् । साथसाथै विपन्न वर्गको लागि २० युनिट विद्युत निशुल्क प्रदान हुने बताइन् । पेट्रोलियम पदार्थ माथिको निर्भरतालाई न्यून गर्न बिभिन्न रणनीति लिइएको र आन्तरिक खपत वृद्धि गर्न तर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए ।
साथसाथै विद्युत बढि खपत हुने उद्योगहरू ल्याउन समेत आग्रह गरे । उक्त अवसरमा चेम्बरका उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, तथा चेम्बर कार्य समिति सदस्य देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष पाण्डे, सुरेन्द्र शारडा तथा चेम्बर अन्तरगत उर्जा समितिका सभापति नरेन्द्र वल्लभ पन्त तथा सह सभापति उत्तर कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया