पुनः भरिन थाले अस्पताल र आइसालेशन, पाँचथरमा सक्रिय सङ्क्रमित ६ सय नाघे

४ बर्ष अगाडि

विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड–१९ विशेष अस्पताल र आइसालेशन फेरि पुनः भरिन थालेका छन् । 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्दै गएको छ । सङ्क्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा सङ्क्रमणका बिरामीले अस्पताल तथा आइसोलेशन कक्ष फेरि भरिन थालेका हुन् । 

जिल्लामा दिन प्रतिदिन कोभिड–१९ को सङ्क्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । “विगतमा शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण दर अहिले बढिरहेको छ,” उनले भने, “केही समय खाली भएको कोभिड अस्पताल मान्ममा अहिले २४ कोरोना सङ्क्रमितका बिरामी छन् भने दुई जनालाई अक्सिजन दिनु परिरहेछ ।”

जिल्लाको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र पचालझरनालगायत स्थानीय तहले निर्माण गरेको कोभिड–१९ का आइसोलेशन कोभिड–१९ का बिरामीले भरिएको अधिकृत महतले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेसम्मलाई निषेधाज्ञा जारी गरे पनि जिल्लामा निषेधाज्ञाको प्रभावकारी पालना नभएका कारणले कोभिड–१९ सङ्क्रमण दर बढेको स्थानीयवासी रामबहादुर शाहीले बताए ।

 जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर बढेका कारणले जिल्लामा थप केही दिन निषेधाज्ञा जारी हुन सक्ने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । “कोभिड–१९ को सङ्क्रमण दर बढ्दै गएमा केही दिन थप निषेधाज्ञा हुनेछ,” उनले भने, “कोभिड–१९ को नियन्त्रणका लागि विभिन्न उपाय अपनाएको भए पनि नियन्त्रणमा आउन सकेको छैन् ।” 

यस्तै निषेधाज्ञा खुकुलो पारिएको पाँचथरमा कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या छ सयभन्दा बढी पुगेको  छ । 

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आइतबारसम्म पाँचथरमा कूल तीन हजार सात सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो तीमध्ये तीन हजार ४३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये जिल्लाभित्रै १८ जनाको मृत्यु भएको छ भने २९ जनालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ । 

यस तथ्याङ्कका आधारमा अहिले जिल्लामा ६ सय ३२ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये १९ जना फिदिमस्थित कोभिड अस्पतालको एचडीयूमा उपचाररत छन् । सङ्क्रमितको सङ्ख्या उल्लेख्य रहेको भए पनि उद्यमी, व्यवसायीहरुको मागका आधारमा जिल्लामा निषेधाज्ञालाई आजदेखि थप खुकुलो पारिएको छ । पाँचथरमा यातायातका साधनमा लगाइएको जोरबिजोरको प्रणाली हटाइएको छ । 

यस्तै पसल–व्यवसाय बिहान ५ देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि निषेधाज्ञाका व्यवस्थाहरु केही प्रतिबन्धात्मक भए पनि त्यसको पालना हुन सकेको थिएन । अहिले सङ्क्रमणको अत्यधिक खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय तथा सङ्ग्रहालय खोल्न भने रोक लगाइएको छ । पाँचथरमा तेह्रै पटक निषेधाज्ञा थप गर्दा धेरै प्रतिबन्धात्मक व्यवस्थाहरुलाई हटाइएको छ । 

जिल्ला सदरमुकाम फिदिमसहित दूरदराजका गाउँहरुमा कोभिड–१९ का सङ्क्रमित फेला पर्ने क्रम रोकिएको छैन । पछिल्लो साता जिल्लाको फिदिम नगरपालिका–१३ लुङरुपामा कोभिड–१९ का धेरै सङ्क्रमित फेला परेका छन् । फिदिमसहित अन्य बजारी क्षेत्रमा समेत सङ्क्रमितको सङ्ख्या उल्लेख्य रुपमा घट्न सकेको छैन । सोमबार मात्रै ५५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । 

निषेधाज्ञा खुकुलो पारिएपछि परीक्षण बढाउन थालिएको छ । आज मात्रै जिल्ला अस्पतालमा पीसीआर परीक्षणका लागि कन्ट्याक ट्रेसिङमा परेकाहरु तथा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई अस्पताल तथा सरोकारवालाहरुले आह्वान गरेका छन् । निषेधाज्ञा खुकुलो भएपछि विशेषतः बजारी क्षेत्रमा सङ्क्रमण फैलने खतरा अत्यधिक हुने गरेको छ । 

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपालले निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण ह्वात्तै बढ्नसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा जोड दिन उद्यमी, व्यवसायी तथा उपभोक्ताहरुमा आग्रह गरेका छन् । उनले बिक्रेता र ग्राहक सबैलाई सहज वातावरण बनेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनालाई अनिवार्य गरी सङ्क्रमण रोकथाम र विद्यमान अवस्थाको निरन्तरताका लागि सहयोग गर्न अपील गरेका छन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया