कोरोना कहरका कारण चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकिएको विद्युत् प्राधिकरणले स्वीकार गरेको छ । एक प्रतिशत चुहावट बढ्दा झण्डै रु ७० करोड बराबरको नोक्सानी हुने देखिन्छ । आव २०७७÷७८मा झण्डै दुई प्रतिशत बराबरको चुहावट बढेको छ । यस आधारमा कूल रु एक अर्ब ४० करोड बराबरको नोक्सानी भएको छ ।
आव २०७७÷७८ मा विद्युत् चुहावट १७।१८ प्रतिशत थियो । जुन आव २०७६÷७७ को तुलनामा १।९१ प्रतिशतले बढी हो । विद्युत् खपतमा भएको वृद्घि, कोभिड–१९ का कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुननसकेका कारणले चुहावटमा वृद्घि हुन गएको प्राधिकरणको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा आफूहरु रहेको जानकारी दिए ।
आव २०७७÷७८ मा साना विद्युत् गृहसहित प्राधिकरणका जलविद्युत् गृहबाट कूल दुई अर्ब ८१ करोड युनिट बिजुली उत्पादन भयो । आव २०७६÷७७ मा उत्पादन कूल तीन अर्ब दुई करोड युनिट उत्पादन भएको थियो । आव २०७६÷७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आव मा ८.३६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट प्राप्त भएको थियो ।
यस्तै, आव २०७६÷७७ मा भारतबाट रु एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेकाले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको प्राधिकरणले जनाएको छ ।
गत आवमा प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत् उपलब्ध भएको तथ्याङ्क थियो । जुन, आव २०७६÷७७ मा ७ अर्ब ७४ करोड १० लाख युनिटको तुलनामा १४.६८ प्रतिशत बढी होे । कूल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत छ भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ । आव २०७७÷७८ मा कुल विद्युत् खपत ७ अर्ब ३१ करोड ९० लाख युनिट रहेको छ । जुन आव २०७६÷७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी हो ।
प्रतिक्रिया