उल्लङ्घन गर्नेलाई जरिवाना सहित निषेधाज्ञा थप

४ बर्ष अगाडि

डोटि जिल्लामा स्थानीय पर्व तथा चाड नजिकिएको र कोरोना जोखिम बढ्न सक्ने जनाउँदै यहाँको स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा अब एक महिनासम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाअनुसार आज मध्यरातबाट लागू हुने निषेधाज्ञा यही भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने भनिएको छ । 

यसैगरी बजार–पसल बिहान ५ देखि बेलुकी ५ बजेसम्म मात्रै खुल्ने भएका छन् । यसैगरी होटेल तथा रेस्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ । स्थानीय मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने पूर्ण रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “जिल्लामा स्थानीय चाडबाड नजिकिएका र कामका लागि भारत गएका नागरिकहरु पनि फर्किने समय भएकाले बढी भीडभाड हुँदा कोरोना जोखिम बढ्न सक्ने भएकाले हामीले निषेधाज्ञामा केही कडाइ गरेका छौँ, नियमको सबैले पालना गर्नु जरुरी छ ।” 

यसैगरी कोरोना सङ्क्रमणको खतरा हुने तथा भीड लाग्ने शपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल तथा पुस्तकालय भने खोल्न रोक लगाइएको छ । 

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञा आज १३औँ पटक थप भएको हो । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी साधन भने सञ्चालन गर्न अनुमति दिइएको छ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ । यसअघिसम्म बजार–पसल साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइएको भने पनि अब उक्त समय घटाइएको छ । 

जिल्लामा कोभिड–१९ सङ्क्रमण दर घटेको तथ्याङ्कमा देखिए पनि यहाँ स्थानीय चाडबाड आएकाले सङ्क्रमणको खतरा बढ्नेतर्फ सजगता अपनाउँदै निषेधाज्ञामा केही कडाइ गरिएको निमित्त प्रजिअ जोशीले जानकारी दिए कोरोनाबाट हालसम्म जिल्लामा ११ को मृत्यु भएको छ ।

यस्तै  तनहुँमा पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आजदेखि ७ गतेसम्मका लागि सो आदेश  जारी गरेका हुन् ।     जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम अझै कायमै रहेको जनाउँदै  यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको थियो । 

कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक आचार्यले थपिएको निषेधाज्ञा पहिलाको भन्दा कडा हुने र उल्लङ्घन गर्नेलाई जरिवाना गरिने बताए । 

पसल खोल्ने समय अहिले घटाएर बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न र  व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिइने तर अन्य क्रियाकलापमा भने पूर्णरूपमा प्रतिबन्ध लगाइएकोे छ ।
जिल्लामा  दिनदिनै  कोरोना सङ्क्रमित बढ्दै गएका र अहिले   सक्रिय सङ्क्रमितको सङ्ख्या ४७६ पुगेको छ । वैशाखदेखि यता चार हजार ६९७ जनामा सङ्क्रमण पुष्टि भएकामा चार हजार १२२ निको भएका र ९९ को मृत्यु भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया