घरको ढोका फोर्ने औजारसहित १६ वर्षमूनिका चारजना पक्राउ

७ बर्ष अगाडि

काठमाडौं – चोरी गरिएका विभिन्न सामानहरु सहित ४ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने काभ्रे फुलबारी घर भएका प्रज्वल तामाङ, काठमाडौं ढल्कु बस्ने रामेछाप घर भएका  अनिल तामाङ, काठमाडौं स्वयम्भु बस्ने मकवानपुर पालुङ घर भएका  राजिब देउला र काठमाडौं पक्नाजोल बस्ने दोलखा सिंगटी–२ घर भएका  निमा तामाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका–३ पानीपोखरीस्थित सडकबाट प्रज्वल तामाङ, अनिल तामाङ र राजिब देउलालाई प्रहरीले घर फोर्ने औजार २ थान, फलामको मासु काट्ने हतियार १ थान, पेचकस ३ थान, छिनो २ थान, ल्यापटप १ थानसहित प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिई थप सोधपुछ गर्ने क्रममा उनीहरुले निमा तामाङको सहयोगमा विभिन्न स्थानमा घर फुटाई चोरी गरेको सामानहरु काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित तण्डुकार होटलमा लुकाई छिपाई राखेको भन्ने जानकारी दिए पश्चात उक्त होटल तथा निमा तामाङको कोठा समेतबाट चोरी गरिएका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको हो । 

प्रहरीले उक्त होटल तथा निमा तामाङको कोठाबाट ल्यापटप २ थान, मोबाइल ९ थान, धलौटको मुर्ती १ थान, सुन जस्तो देखिने औठी १ थान, तिलहरी १ थान, चाँदीको पाउजु १ थान, चाँदीको चुरा २ थान, चाँदीको औठी २ थान, चाँदिको सिक्री १ थान, क्रमशः मोडेल ५० लेखेको क्याप्सुल ७५ थान, घडी १ थान, पेस्तोल आकारको लाईटर १ थान, लेडिजको सानो हाते ब्याग १ थान र लुगा बोक्ने झोला २ थान बरामद गरेको छ । 

पक्राउ परेका सबै १६ वर्षमूनिका रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया