नदी कटानले १७ परिवार उच्च जोखिममा, बाढीपीडितलाई प्रतिपरिवार दुई लाख दिइने

४ बर्ष अगाडि

 शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयामा स्याली नदीले स्थानीय किसानको धान रोपेको जग्गा कटान गरी बगाउन थालेको छ । नदीले जग्गा कटान गर्न थालेपछि १७ परिवार जोखिममा परेका छन् । लगातार भइरहेको वर्षाका कारण नदीमा बहाव बढेपछि जग्गा कटान तीव्र बनाएको हो ।

हालसम्म नदीले आठ परिवारको झण्डै दुई बिघा बढी जग्गा बगाई बगरमा परिणत गरेको छ । “स्थानीयवासी सोमलाल रानाले धान रोपेको पाँच कठ्ठा जग्गा बाढीले बगाएको बताए । नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान लगातार बढ्दोरूपमा रहेको छ”, उनले भने, “स्वामित्वको एक बिघा जग्गामध्ये आधा जग्गा नदीले बगाइसक्यो ।”

यस्तै अवस्था रहे नदीले घरबाससमेत बगाएर लैजाने अवस्था छ । वर्षात् हुने एक महिना अझै बाँकी रहेकाले लगातारको नदीले जग्गा कटान गर्दा बस्तीका बासिन्दा सुरक्षित बासस्थानको खोजीमा जुटेका छन् । बस्ती नै नदीको उच्च जोखिममा रहेकाले परिवार जोगाउने चुनौती आइपरेको क्षेत्रबहादुर चौधरीले बताए। “जग्गा नदीको बाढीले लगातार कटान गर्न थालेको छ”, उनले भने, “अझै वर्षा भए नदी बस्तीसम्म नै आइपुग्ने खतरा बढेर गएको छ । नदीले बेघर बनाउने अवस्थामा पु¥याउन थाल्यो ।”

खेतमा रोपेको धान नदीले जग्गा कटान गरी बगाउन थालेपछि स्थानीय बासिन्दा परिवार पाल्नका लागि अन्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । वर्षेनी यस क्षेत्रमा नदीले जग्गा कटान गर्दै आएको छ । वडाध्यक्ष बाले रानाका अनुसार नदीले तीन वर्षको अवधिमै १७ परिवारको झण्डै चार बिघा उब्जाउ जग्गा बगाइसकेको छ ।

नदीले जग्गा कटान गर्दै आएको क्षेत्र जोगाउनका लागि गत आवमा रु १५ लाख खर्चेर प्रदेश सरकारको बजेटमा निर्माण गरिएको तटबन्धसमेत बाढीले भत्काइदिएको छ । तटबन्ध निर्माण सन्तोषजनकरूपमा नगरिँदा तटबन्ध निर्माण गरेको दुई महिना नपुग्दै भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । भरपर्दो तटबन्ध निर्माण गरी बस्ती जोगाइदिनका लागि स्थानीयवासी सम्बन्धित निकायसँग माग गरेका छन् ।

पूर्ण क्षति भएका मनाङका घर बनाउन प्रतिपरिवार दुई लाख
गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ । जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले सोमबार जिल्लाको नासों गाउँपालिका दुई ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गरेका छन् । स्थानीयवासी पीडितसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै भएको क्षतिबाट आफू दुःखी भएको बताउँदै बाढीले पूर्ण क्षति पु¥याएका घर निर्माणका लागि प्रतिघर रु दुई लाख प्रदान गर्ने घोषणा गरे । मनाङमा यो बर्खामा ८५ घर पूर्ण क्षति भएको विवरण सङ्कलन भएको छ । खासगरी नासों गाउँपालिकाको वडा नं १ मा ७० घरमा क्षति पुगेको छ । धारापानीमा पनि १२ घरमा क्षति पुगेको पालिका अध्यक्ष चन्द्र घलेले बताए ।

मुख्यमन्त्री पोखरेलले बेँसीसहर–चामे सडक खुलाउन सङ्घ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको बताए । त्यसभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ । मुख्यमन्त्री पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर सङ्घ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्घ सरकारले मनाङलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । जिल्लामा विभिन्न बस्तीको पुनःनिर्माणका लागि आफूले केन्द्रसँग समन्वय गरिहरहेको मुख्यमन्त्री पोखरेलले बताए । मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयमा सोलार जडान गरिसकेको छ । जसका कारण सेवाग्राहीले सहजै सेवा लिन पाएका छन् ।

अर्थमन्त्री रामजीप्रसाद बरालले बाढी र पहिरो प्रभावितको पहिचान गरी तत्काल र दीर्घकालीनरूपमा समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए । वडा नं १ को अधिकांश बस्ती बगरमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितलाई खान, बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने उनले बताए ।

अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासों गाउँपालिका धारापानी मनाङमा गत असार १ गते परेको अविरल वर्षाले मस्र्याङ्दी नदी र दूधखोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । 

बाढीले स्थानीयवासीको घरबास नै डुबाउनुका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ । मूल सडक र झोलुङ्गे पुल बगाएको छ । गोरेटो बाटोसमेत हिँड्न सकिने अवस्थामा छैन । सञ्चार र बिजुलीसमेत नहुँदा आफूहरू मर्कामा परेको स्थानीयवासीले दुःखेसो गरेका छन् । सोमबार मुख्यमन्त्री र अर्थमन्त्रीसँगै कांग्रेस सांसद चिन्तबहादुर घले, माओवादी केन्द्रका नेता कपिल लामा सहभागी थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया