पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट आएको लु १ ज २९९२ जीप बिहान तानसेन नगरपालिका वार्ड ७ सालघारीमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते हुनेमा तानसेन नगरपालिका वार्ड ७ का २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँमा २८ वर्षीय विक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवाल, ३२ वर्षका हुमबहादुर सारु, ३३ वर्षका विक्रम नेपाली, २९ वर्षका अनुज पल्ली, ३० वर्षका सोमबहादुर न्यौपाने , २८ वर्षका योगेश सारु, ३३ वर्षका पवनकुमार ग्राह, ३५ वर्षका सन्तोष गैरे रहेका छन् ।
यस्तै तानसेन नगरपालिका वार्ड ६ का ३३ बर्षीय चालक सोम राना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सबै घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा बिहान करिब ८ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बर्दिया बाँसगढी निवासी चेतन बोहोरा र प्रदीप चौधरीको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणको लागि अस्पतालमै राखिएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया