एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले 'लडाइँ' सकिएको दाबी गरेको छ ।
काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरूलाई आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन् ।
अमेरिकाले त्यहाँ कुल ६,००० सेना पठाउँदै छ । तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन् । काबुलबाट कैयौँ अफगानहरू घर छाडेर भागिरहेको खबर आइरहेका बेला त्यहाँका राष्ट्रपति पनि आइतबार विदेश पलायन भएका छन् ।
देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ ।त्यस्तै त्यहाँका उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ । सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो ।
तर, पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गरेको छ । अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन् ।
अल जजिराले राष्ट्रपतिका निजी सुरक्षा गार्डलाई उद्धृत गर्दै यस्तो समाचार दिए पनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।
यसैबीच एउटा फेसबुक पोस्टमा अफगान नागरिकहरूलाई सम्बोधन गर्दै गनीले काबुल छाड्नु आफ्ना लागि एउटा कठिन फैसला भएको बताएका छन् । उनले रक्तपात रोक्नका लागि उक्त निर्णय लिएको भन्दै स्पष्टीकरण दिएका छन् ।
उनले आफू काबुलमा रहँदा रहँदै तालिवान काबुल आइपुग्दा झडप हुन्थ्यो र त्यसले लाखौँ मानिसको ज्यान खतरामा पर्न सक्थ्यो भनेका छन् । उनले तालिबानले हतियारको बलमा विजय हासिल गरेको लेखेका छन् ।
त्यस्तै उनले अब अफगानहरूको इमान, सम्पत्ति तथा आत्मसम्मानको रक्षाको जिम्मा तालिबानको भएको बताएका छन् ।
प्रतिक्रिया