काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कोरोनाको संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भइ गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको उक्त आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् ।
आईपीओमा शुक्रबारसम्म कुल ९० हजार ६८१ वटा आवदन परेको छ । जसमध्ये आयोजना प्रभावितहरुबाट ९ हजार ४८७ वटा र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट ८१ हजार १९४ वटा आवेदन परेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार गत शुक्रबारसम्म कुल १ अर्ब ७८ करोड ३६ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको १ करोड ७८ लाख ३६ हजार ८७५ कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
प्रतिक्रिया