काठमाडौं - द्वन्द्वग्रस्त अफगानिस्तानमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारमा समन्वय गर्न सरकारले कार्यदल गठन गरेको छ ।
परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठन गरिएको कार्यदलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी, कोभिड–संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्यहरु रहने गरी एक कार्यदल गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कार्यदलले अफगानिस्तानमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्थाको बस्तुगत विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेब पोर्टलमा सकेसम्म छिटो सम्पर्क गर्न आग्रह गरिएको छ । उक्त वेबसाइटमा स्वदेश फर्किन चाहने नेपालीहरुले आफ्नो नामसहितको विवरण भर्न अफगानिस्तानमा रहेका नेपाली वा उनीहरुका नेपालमा रहेका परिवारका सदस्यलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धारको समन्वयका लागि मन्त्रालयले भाइबर र ह्वाट्सएपबाट पनि सम्पर्क गर्न सकिने बताएको छ । त्यसका लागि कन्सुलर सेवा विभागको मोबाइल नम्बर: +९७७–९७४९३२६४५८ र +९७७–९७४९३२६४५९ सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया