कर्णालीमा एकैदिन ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि, औद्यागिक र पर्यटन क्षेत्रका ६ हजार ७०० व्यवसायीलाई खोप

४ बर्ष अगाडि

काठमाडौं - कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियानअन्तर्गत ‘तपाईँको मास्क खै रु’ कार्यक्रम अघि सारेका छन् । प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम सुरु भएको छ ।

सचेतना कार्यक्रमका साथै मास्क नलगाउनेलाई कहीँ कारवाही त कतै मास्क वितरण कार्यक्रम गरिए पनि कोरोना सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक काममा लाग्न निर्देशन दिए पनि कोही कसैले सावधानी नअपनाउँदा पछिल्लो एक सातामा सङ्क्रमण झनै उकालो लागेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताललगायत प्रदेशका विभिन्न प्रयोगशालामा शनिबार १३६ जनाको पिसिआर परीक्षण गर्दा ७० र एन्टिजेन विधिबाट २२१ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिए ।

उनका अनुसार प्रदेशभर कोरोना सङ्क्रमणमुक्त हुनेको कूल सङ्ख्या २९ हजार १०७ अर्थात् ९१ प्रतिशत पुगेको छ । हालसम्म कर्णालीमा एक लाख २४ हजार ५१९ जनाको आरटी पिसिआर र ४२ हजार ५६८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९७७ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जननाएको छ ।

पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो ।

शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालयमा एक हजार ४०० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए । दैनिक सयौँ उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यावसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र नबनून् भन्नेतर्फ पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराइएको जानकारी दिँदै उहाँले थोरै सङ्ख्यामा भए पनि खोप उपलब्ध हुनुले आफूहरूलाई उत्साहित बनाएको बताए ।

अत्यावश्यक सामग्रीको उत्पादन गर्ने औद्योगिक क्षेत्र तथा पर्यटन आबद्ध व्यसायी र मजदुरले खोप पाउनु सुखद् भएको उनले बताए । अध्यक्ष कोइरालाका अनुसार सङ्घले एक हजार ४००, पोखरा पर्यटन परिषद्को समन्वयमा दुई हजार ५००, पोखरा औद्योगिक क्षेत्रमा एक हजार, लेखनाथ उद्योग वाणिज्य सङ्घमा ९०० तथा पोखरा चेम्बर अफ कमर्ससँग आबद्ध ९०० व्यवसायीले खोप पाएका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया